चितवन । चितवनमा आज (शुक्रबार) देखि चौथो संस्करणको कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी सुरु भएको छ । चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा सुरु भएको प्रर्दशनीको बागमती प्रदेश कृषि मन्त्रि बसुन्धरा हुमागाईले उद्घाटन गरे । मन्त्री हुमागाईले बागमती प्रदेशको कृषि क्षेत्रको विकास गर्न परिकल्पना गरिएको बताउँदै बिभिन्न आयोजनालाई समेट्दै ५१ बुँदे मार्गचित्र तयार पारेको जानकारी दिए ।
सरकारले पर्याप्त बजेटको सुनिश्चितता गरे बागमती प्रदेशको कृषिमा क्रान्ति ल्याउन सकिने बताउँदै अहिले भएका स्रोत साधनको अधिकतम प्रयोग गरेर किसानलाई सरकार छ भन्ने अनुभुति हुने गरी कार्यक्रम ल्याउने बताए।
उनले यस्ता प्रदर्शनीबाट किसानले कृषि यन्त्रका बारेमा बुझ्ने अवसर मिल्ने बताए । कृषिमा यान्त्रीकरणले उत्पादन बढ्ने र लागत घटाउने भएकोले कृषकलाई प्रोत्साहन मिल्ने बताउँदै प्रदर्शनी आवश्यक रहेको बताए ।
चितवन देशको मध्यभागमा रहेको र कृषिका लागि पनि प्रख्यात भएकोले प्रदर्शनी यहाँ आयोजना गरिएको मिडिया स्पेसका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले बताए । विदेशमा प्रयोग भएका कृषि उपकरणहरुलाई नेपाल भित्राउनु र किसानलाई प्रविधिमैत्री गराउन प्रदर्शनीको मुख्य उद्धेश्य रहेको बताए । प्रदर्शनी सबै खाले क्रिसानका लागि उपयोगी हुने उनको भनाइ थियो ।
१५ गतेसम्म चल्ने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० भन्दा बढी कृषि सम्बन्धी कम्पनीहरुका स्टलहरु रहेका छन् । कृषिका नविनतम औजार, थोपा सिचाई, बिषादी रहित कृषि उपकरण, केराखेती, कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायतका बिषयमा प्रर्दशनी केन्द्रित रहेको छ ।
प्रर्दशनीमा होटल तथा रेष्टुँरामा प्रयोग हुने मेसिनहरुको छुट्टै पेरिसर रहेको छ । सो परिसरमा फुड र वेवरेजका ५० वटा स्टल रहेका छन् । प्रर्दशनीमा देशभरबाट उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत कृषकहरुले आधुनिक प्रविधिहरुको अनुसरण र आवश्यक परामर्श लिन सक्नेछन् ।
प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने स–साना औजार, डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठू–ठूला उपकरणहरु प्रदर्शनमा राखिएको छ ।
प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगले उत्पादन वृद्धि भई मुलुकलाई आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ । प्रदर्शनीमा कृषकहरुलाई कृषि प्रविधि तथा कृषिका विभिन्न विधाहरुका बारेमा जानकारी तथा कृषि कर्जाको बारेमा परामर्श समेत दिईने छ ।
प्रदर्शनीले पर्यटन, होटल तथा यातायात मार्फत आर्थिक कारोबार बढ्ने भएकोले कोभिड १९ का कारण थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रदर्शनीको पहिलो संस्करण काठमाडौंमा भएको थियो । त्यसयता लगातार तीन संस्करण चितवनमा आयोजना गरिएको हो ।